माओवादीले नयाँ गठबन्धन रोजेपछि कांग्रेसका ३८ मन्त्रीको पद जाने निश्चित

होमल्याण्ड खबर

२०८० फाल्गुन २१ गते, सोमबार १४:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले एमालेसहितको गठबन्धन रोजेपछि नेपाली कांग्रेसका ३८ मन्त्रीको पद धरापमा पर्ने भएको छ । सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितका दलसँग सत्ता सहकार्य राेजेपछि केन्द्रदेखि प्रदेशसम्म कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको पद जाने निश्चित भएको हो ।

सत्ता राजनीतिमा कांग्रेस एक्लिएसँगै केन्द्रदेखि सातै प्रदेशमा सरकार सत्ताविमुख हुने भएको हो । सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण निर्माण गरेर जाने निर्णय गरिसकेको छ ।

कांग्रेसबाट अपेक्षित सहयोग नपाएपछि गठबन्धन फेर्नुपरेको माओवादीले दाबी गरेको छ । केन्द्रमा ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

ग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।

सात प्रदेशमध्ये चारमा नेतृत्व र तीन प्रदेश सरकारमा कांग्रेसको सहभागिता छ । कोशी प्रदेशमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा सरकार छ । कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, प्रदीप सनुवार स्वास्थ्यमन्त्री, रामकुमार खत्री कृषि तथा सहकारी मन्त्री छन् ।

त्यस्तै कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरुङ छन् । जसपा नेतृत्वको मधेस प्रदेशमा कांग्रेसका तीन जना मन्त्री छन् । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार, उपसभापति वीरेन्द्र सिंह सामाजिक विकास र नेता मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री छन् ।

बागमतीमा १२ मध्ये कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । बहादुरसिंह आर्थिक मामिला तथा योजना र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइ, मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री छन् ।

गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ । त्यहाँ सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । सात सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्रीका साथै चार जना मन्त्री छन् ।

कांग्रेसका सरस्वती आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी, महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था, जितप्रकाश आले आर्थिक मामिला र दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कमान्ड सम्हालिरहेका छन् ।

लुम्बिनी प्रदेशमा पनि कांग्रेस नेतृत्वकै सरकार छ । त्यहाँ मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित कांग्रेसबाट राजु खनाल स्वास्थ्य र सरोज थापा उद्योग तथा यातायात व्यवस्था मन्त्री छन् ।

कर्णाली प्रदेश सरकारमा कांग्रेसका ३ जना मन्त्री सहभागी छन् । वेदराज सिंह आर्थिक मामिला तथा योजना, खड्गराज पोख्रेल सामाजिक विकास, कृष्णकुमार विसी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार छ । कमलबहादुर शाहसहित कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

कांग्रेसबाट केन्द्रमा ९ र प्रदेशमा मुख्यमन्त्रीसहित २९ जना मन्त्री छन् । केन्द्रमा बनेको नयाँ सत्ता समीकरण हेर्दा सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने अवस्था छैन । कांग्रेसले नेतृत्व गरेको चार प्रदेशमा एक महिनासम्म मन्त्रीको पद जोगिन सक्ने भए पनि अन्य प्रदेशका कांग्रेसका मन्त्रीको पद तत्काल जाने निश्चित छ ।

यसैबीच कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।

‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने ।
कांग्रेसले अब प्रतिपक्षमा बस्ने पनि निर्णय गरेको छ ।