मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नयाँ गठबन्धनको बैठक बस्दै

होमल्याण्ड खबर

२०८० फाल्गुन २२ गते, मंगलवार १३:३० मा प्रकाशित

मन्त्रालय बाँडफाँडबारे छलफल गर्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ ।

अहिले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदलका साथै थप नेताहरू संलग्न भएको बैठक भइरहेको छ ।

एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।