३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
नेपाल हिँड्न लागेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको र त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा रहेको बताएको उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौंदेखिको सम्बन्ध रहेको स्मरण गरेका छन् ।
“हामी एउटै हिमालको वारीपारी बसेका, एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौं । हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं,” ओलीले भनेका छन् ।
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको र गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको बताएका थिए ।