नयाँ मन्त्रीले लिए सपथ

होमल्याण्ड खबर

२०८० फाल्गुन २३ गते, बुधबार २०:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन्। योसँगै मन्त्रिमण्डल २० सदस्यीय बनेको छ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन्। यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री  भएका छन्।

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ।

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रिमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन्। पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बनेका छन्।