स्थानीय तहका कर्मचारीहरुको संघीय निजामती सेवा विधेयकमाथि असन्तुष्टि

होमल्याण्ड खबर

२०८० फाल्गुन २४ गते, बिहीबार १६:०५ मा प्रकाशित

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बारे छलफल गर्न स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय समितिले बैठक बोलाएको छ । उक्त समितिले बैठकका लागि बिहीबार केन्द्रीय पदाधिकारी र ७ वटै प्रदेशका प्रदेश संयोजकहरूलाई काठमाडौँ बोलाएको हो ।

स्थानीय सेवा कर्मचारी सञ्जालका संयोजक दिपक गौतम र महासचिव दिपक सिंह धामीद्वारा जारी विज्ञप्तिमा संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० ले आफ्ना मागहरू सम्बोधन नगरेको उल्लेख छ । स्थानीय तहका कर्मचारीहरूसँग भएको १९ बुँदे सहमतिको कार्यान्वयनमा सरकार सकारात्मक नदेखिनुका साथै सहमति भएका बुँदाहरु कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहमा रहेका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदा गराउँदै पनि विधेयकमाथि थप छलफल नगरी स्थानीय तहका कर्मचारीहरूलाई बेवास्ता गर्दै अगाडि बढेमा आन्दोलन लगायत थप सशक्त सङ्घर्षका कार्यक्रम गर्ने सञ्जालले चेतावनी दिएको छ ।