प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने राप्रपाकाे निर्णय

होमल्याण्ड खबर

२०८० फाल्गुन २९ गते, मंगलवार १०:११ मा प्रकाशित

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

राप्रपाको शनिबार, आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको उनले बताए ।
‘प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर अगाडि बढ्ने लिने निर्णय गरिएको छ ।’ श्रेष्ठले भनेका छन् ।

राप्रपाले राष्ट्रिय राजनीतिमा केन्द्रीयस्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु र गरिनुलाई अनुपयुक्त भनेको छ । ‘यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ’, राप्रपाले भनेको छ, ‘भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ ।’

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय पनि राप्रपाले गरेको छ । उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्ला अध्यक्षसँग समन्वय गरि उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको श्रेष्ठको भनाइ छ ।