कर्णाली पुलमा गुड्दै गरेको ट्रकमा आगलागी : पुलमा क्षति, आवागमन बन्द

होमल्याण्ड खबर

२०८० फाल्गुन २९ गते, मंगलवार १०:३२ मा प्रकाशित

 कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द भएको छ । आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए ।

आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको छ । चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले पुलका लठ्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । प्रहरीका अनुसार त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबार घटनास्थल जाँदै छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले लठ्ठा जल्दा पुलको लोड क्षमता घटेको हुन सक्ने भएकाले सवारी आवागमन बन्द गरिएको र विभागको प्राविधिक टोलीले जाँच गरेपछि थप निर्णय लिइने बताए । ‘यो पुलको भार लठ्ठाले नै थेग्ने हो । आगलागीपछि पुलको कतिपय लठ्ठाका कभर जलेका छन् । आगोको तापले लठ्ठा तन्किएको हुन सक्छ, पुलको लोड धान्ने क्षमता घटेको पनि हुन सक्छ,’ ढकालले भने ।