२ मंसिर २०८१, आईतवार
भिड महामारीका वेला स्वास्थ्य सामग्री खरिद गर्दा करिब तीन करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डित, उनको कम्पनी र चार सरकारी कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा आइतबार दायर मुद्दामा महामारीको विशेष परिस्थिति देखाई गैरकानुनी लाभ लिने बदनियतसहित अधिकतम कबोल गर्ने बोलपत्रदातालाई छनोट गरेर दुई करोड ८९ लाख ६६ हजारबराबर राज्यलाई हानि पु¥याएको दाबी गरिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडियू)को उपकरण खरिद गर्दा यस्तो अनियमितता गरिएको थियो ।
अख्तियारले एचडियू उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, मूल्यांकन समितिका सदस्यहरू निर्देशनालयकै लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाललाई प्रतिवादी कायम गरेको छ । त्यस्तै, हस्पिटेक इन्टरप्राइजेज प्रालि, त्यसका सञ्चालक पण्डित र कम्पनीकै बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार गरेको अभियोग छ ।