२ मंसिर २०८१, आईतवार
नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले नयाँ गठबन्धनका दलहरूले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । उनले संसदहरूले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।
समर्थन फिर्तापछि यो सरकार अल्पमतमा पर्ने उनको भनाइ छ । उनले केदार कार्कीलाई समर्थन गरेका सांसदहरू हस्ताक्षरसहित समर्थन फिर्ता लिन सभामुख र प्रदेश प्रमुखकोमा जानुपर्ने बताए ।
उनले भने, ‘हामीले बहुमत सिद्ध गरेर गएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेश प्रमुखले एक साताका लागि मुख्यमन्त्री केदार कार्कीलाई समय दिनुपर्ने र त्यो अवधिमा बहुमत जुटाउनु या राजीनामा गर्नुको विकल्प हुँदैन ।’ उनले नयाँ सरकार पुन: संविधानको धारा १६८ (५) अन्तरगतै बन्ने दाबी गरेका छन् । अहिले सरकार परिवर्तनका विषयमा कानूनी जटिलता देखिएको भए पनि कुनै पनि सरकार अल्पमतमा परेपछि नटिक्ने राईको भनाइ छ ।
‘मुख्यमन्त्रीज्यू अदालत जानु होला तर उहाँ अल्पमतमा परेपछि अदालतले उहाँलाई मुख्यमन्त्री बनाउँदैन यो मेरो विश्वास हो ।’ अहिले केन्द्रबाट कुनै निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा ठोस कदम नचालेको राईले बताए । ‘निर्णय भएर निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा छलफल गर्न जाँगर चलेको छैन । सरकार परिवर्तनका विषयमा ठोस कुरा न तल भएको छ न माथि नै कुनै निर्णय भएको छ’, राईले भने ।