८ मंसिर २०८१, शनिबार
नेपाल इन्भेष्टमेण्ट बैंकको ३१औं वार्षिक साधारणसभाले संचित मुनाफाबाट २०७४ असार मसान्तमा कायम सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा मंगलबार सम्पन्न साधारणसभाले यो प्रस्ताव सर्वसम्मत पारित गरेको हो । सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट ४ जना सञ्चालकहरूकोे निर्वाचन भइ कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडेलाई निर्विरोध निर्वाचित गरेको छ । बैंकका अनुसार हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड (पारित बोनस १ अर्ब ३८ करोडसहित) पुगेको छ । यो नेपालका निजी बैंकहरूमध्ये सबैभन्दा बढी हो । त्यसैगरी बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड पुगेको छ भने सेयरधनी कोष रकम १८ अर्ब ७० करोड पुगेको छ । यस बंैकको शेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरूमध्ये कै सबैभन्दा उच्च रहेको बैकले जनाएको छ । बैंकले आव २०७३÷७४ मा ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको थियो, जुन अघिल्लो आव २०७२÷७३ भन्दा २६.७ प्रतिशतले बढी हो । त्यसै गरी खुदनाफा २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपीए) रेसियो गत वर्षको ०.६८ प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा वर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकको प्रयास जारी रहने बैकले जनाएको छ ।