घुस लिँदै गर्दा पोखराकी सब-इन्जिनियरसहित दुई जना पक्राउ

होमल्याण्ड खबर

२०८० चैत्र २९ गते, बिहीबार १२:४३ मा प्रकाशित

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उहाँले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए ।