इलाम-२ को उपचुनाव एक्लै जित्नै कांग्रेसकाे रणनीति, गगन पनि खटिए

होमल्याण्ड खबर

२०८० चैत्र २९ गते, बिहीबार १४:०३ मा प्रकाशित

सत्ता गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले इलाम २ को उपचुनावलाई प्रतिष्ठा बनाएको छ।एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गरे पनि कांग्रेसले एक्लै जित्नै रणनीतिका साथ अगाडि बढेको हो ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् ।

त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ। उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ ।

खड्काको पक्षमा माहोल बनाउनको लागि अहिले अर्का महामन्त्री गगन थापा पनि इलाम पुगेका छन् । शर्मालाई साथ दिनको लागि गगन इलाम पुगेको बताइन्छ । महामन्त्री थापा अहिले चुनावी अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्।

इलाममा हुने उपनिर्वाचन कांग्रेसले जित्ने प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरे।