सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १ अर्ब ठगी

होमल्याण्ड खबर

२०८० चैत्र ३० गते, शुक्रबार १२:२७ मा प्रकाशित

जिल्ला बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले निर्णायक आन्दोलन गर्ने तयारीमा लागेको बताएका छन् । सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको १ अर्बभन्दा बढी रकम ठगिएको उनीहरुको दाबी छ । जुन रकम ठगी गर्नेलाई राजनीतिक संरक्षणमा जोगाइएको उनीहरुको आरोप छ ।

उनीहरुले सहकारीको रकम हिनामिना गर्ने मुख्य नाइके संस्थाका संरक्षक जीतेन्द्रबाबु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई तत्काल पक्राउ नगर्दा आफूहरुको माग सुनुवाइ हुन ढिलो भएको बताए ।

सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धानले देखाएको छ । सहकारीले १ अर्ब ७ करोड रकम संकलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमै उल्लेख छ ।

गृहमन्त्री रवि लामिछाने यसमा जोडिएकाले नै राई र केसीलाई पक्राउ गर्न नखोजिएको पीडितहरुको आशंका छ । अनुसन्धानमा राई र केसी दोषी देखिए पनि पक्राउ गरेर बचतकर्ताहरुको रकम फिर्ताको वातावरण नबनाए वैशाख ४ गतेदेखि सडक आन्दोलन गर्ने पीडितहरुले चेतावनी दिएका छन् ।

राई मलेसियामा रहेको खुलेको र केसी नेपालमै हुँदा पनि पक्राउ नपर्नु आश्चर्यको विषय भएको पीडितहरुको गुनासो छ । प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले गत फागुन ४ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरेको थियो ।