२ मंसिर २०८१, आईतवार
दूरपश्चिम प्रदेशमा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ । यस घटनाक्रमलाइ हेर्दा केन्द्रलाई काउन्टर दिने गरी सरकार दाबी गर्दै प्रदेशको ठुलो दलका रुपमा रहेको नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।
प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको र ती पार्टीहरुले नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएका छन् ।
नेपाली कांग्रेस, नाउपा को रेशम चौधरी पक्ष र नेकपा (एकीकृत समाजवादी) मिलेर दाबी पेस गर्ने तयारी गरेपछि उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेको स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको उनीहरूले छलफल गरेका हुन्। अध्यक्ष ओली बालुवाटार गएपछि एमाले सचिवालय बैठक सरेको छ।
सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा अडान राखेका थिए। तर नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ पक्ष) लाई मुख्यमन्त्री दिने गठबन्धनमा सहमति भएको थियो।
५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।
नेपाली कांग्रेसका १८ जना सांसद छन्। माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले) सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन्। स्वतन्त्र सांसद तारा जोशीले भने अहिलेसम्म निर्णय गरिसकेका छैनन्।
प्रदेश प्रमुखले सरकार गठनको दाबी गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन् ।