पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि होः प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८१ बैशाख ३ गते, सोमबार १६:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् ।

नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसांख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ, प्रधानमन्त्री दाहालले भने ।

उनले सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गरे । ट्राफिक र सडक सुरक्षामा सुधार गरी संघीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।