‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

होमल्याण्ड खबर

२०८१ बैशाख १२ गते, बुधबार १५:३७ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे । ‘धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ,’ उनले भने, ‘शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमा समेत असर गर्दछ ।’

‘लू’ बाट जोगिन के गर्ने ?

– धेरै पानी पिउने,

– बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने,

– हल्का खालको कपडा वा सुतीको कपडा लगाउने,

– खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने,

– चिसो पानीले नुहाउने,

– कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने,

– फलफूल, काँक्रालगायत घरमा बनाएको ताजा खाना खाने,

के नगर्ने ?

– दिउँसो सकभर घर बाहिर ननिस्कने

– भान्सामा धेरै समय नबस्ने

– मदिरा सेवन नगर्ने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

के –के असरहरू हुन सक्छन् ?

– हृदयको गति तीव्र हुने,

– श्वासप्रश्वासमा समस्या हुने,

– शरीरबाट पसिना ननिस्कने,

– रक्तचाप कम हुने

– अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

– छाला सुख्खा, रातो र तातो हुने

२ वर्षभन्दा मुनिका बालबालिकालाई लू बाट कसरी जोगाउने?

– स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने

– ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने

– घरमै बनाएको स्वस्थयकर खानेकुरा खुवाउने

– पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने

– घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने, नहिँड्ने

– शीतलमा बस्ने

– मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरी खुवाउने