७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

होमल्याण्ड खबर

२०८१ बैशाख १३ गते, बिहीबार १६:२९ मा प्रकाशित

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/०७५ मा संचालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई रु.२ लाख २२ हजार ५०३ रुपैयाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले शाही, वली र बुढालाई सोही बिगो कायम गरी मागदाबी लिइएको घिमिरेले जानकारी दिए ।

यसैगरी उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध पनि सोही रकम मागदाबी लिइएको छ ।

यसैगरी चंखेली गाउँपालिका वडा नं. 3 का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (3) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।