१४ मंसिर २०८१, शुक्रबार
सिरहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत मंगलबार बिहानदेखि सरिताकुमारीको ५ वर्षीय छोरा आयुश बेपत्ता भएका थिए ।
उनै सरिताकुमारीले छिमेकीसँग आफ्नो छोरो हराएको बताएकी थिइन् । छिमेकीहरूसमेत मिलेर खोज्दा आयुशलाई भेटिएनन् । त्यसपछि प्रहरीलाई उनैले छोरो हराएको भन्दै खोजी दिन आग्रह गरिन् ।
प्रहरीलाई सुरुमै सरिताकुमारीमाथि नै शंका लागेको थियो । सोही शंकाको आधारमा उनकै घरबाट प्रहरीले खोजी कार्य सुरू गरेको थियो ।
खोजी गर्दा सरिताकुमारी सुत्ने कोठामै आयुश मृत भेटिएको डिएसपी सापकोटाले जानकारी दिए । खाटको घर्राभित्र आयुश मृत अवस्थामा भेटिएको हो । त्यसपछि प्रहरीले सरिताकुमारीलाई पक्राउ गरेको हो । बयानमा उनले छोराको हत्या गरेको स्वीकार गरेको डिएसपी सापकोटाले बताए ।
सरिताकुमारीविरूद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।