लगाएको कपडामा लेपन गरी सुन तस्करी गर्ने दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

होमल्याण्ड खबर

२०८१ बैशाख ३१ गते, सोमबार १३:०५ मा प्रकाशित

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार सुरेशले सेतो रङको टि-सर्ट, निलो रङको पेन्टी र कालो रङ्गको जिन्स पाइन्टमा र मोहन कुमारले कालो रङको टि-सर्ट, निलो रङको पेन्टी र निलो रङ्गको जिन्स पाइन्टमा सुनको लेप लगाएर ल्याएका थिए । बरामद सुन करिब हजार देखि १५ सय ग्रामसम्म हुनसक्ने प्रहरीको अनुमान छ । राष्ट्र बैंकले पगालेपछि मात्रै सुनको परिमाण यकिन हुने उनले बताए ।

उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइने बताइएको छ ।