विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ सम्पन्न

होमल्याण्ड खबर

२०८१ जेष्ठ १६ गते, बुधबार १६:४८ मा प्रकाशित

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात् ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा बुधबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।
नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच भएको मैत्रीपूर्ण प्रतिष्पर्धामा खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत् विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो विश्व रेकर्ड हुने दाबी गरिन् ।

हास्य प्रस्तुति सहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालनगरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भुमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पा स्थानिय सहजीकरण गरेका थिए ।