अक्सिजन प्लान्ट खरिदमा करोडौं रूपैयाँ घोटाला

होमल्याण्ड खबर

२०८१ जेष्ठ १७ गते, बिहीबार १०:५४ मा प्रकाशित

कोरोनाकालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा करोडौं रूपैयाँ घोटाला गरिएको रहस्य खुलेको छ। स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक, निर्देशक र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय ‘युनोप्स’ का नेपाल कन्ट्री मेनेजरको मिलेमतोमा राज्यलाई करोडौं रूपैयाँ व्ययभारमा पारेको रहस्य खुलेको हो।

स्वास्थ्य सेवा विभागले कोरोना महामारीको कारण देखाएर ‘युनोप्स’लाई अक्सिजन जेनेरेसन प्लान्ट, अक्सिजन कन्सन्टेटर खरिद अधिकार दिएको थियो। विभाग आफैंले फास्ट ट्र्याकबाट टेन्डर खोली खरिद गर्न सक्ने अवस्था हुँदाहुँदै ‘युनोप्स’ लाई यो जिम्मा दिएको थियो। बिनाकारण र आधार युनोप्सलाई विभागले नै तयार पारेको स्पेसिफिकेसन र त्यससँग मिल्ने कम्पनी तयार पारी खरिदका लागि रकम पठाइएको थियो।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय ‘युनोप्स’ का नेपालका तत्कालीन कन्ट्री म्यानेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्ड कल्लनले कोभिडको समयमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा राज्यलाई तीन करोड ३४ लाख पाँच हजार रुपैयाँभन्दा बढी व्ययभार हुनेगरी घोटाला गरेका हुन्।

स्वास्थ्य सेवा विभागले खरिद गर्नुपर्नेमा राष्ट्रसंघीय एजेन्सीलाई प्रत्यक्ष संलग्न गराउँदा राज्यलाई करोडौं रुपैयाँ व्यभार परेको हो। विभाग स्वयंले गर्नुपर्नेमा उचित कारण र आधारबेगर नै छुट्टै उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई खरिदमा संलग्न गराउनु औचित्यपूर्ण नहुने भन्दै त्यतिबेला विरोध भएको थियो। तर विभागले बलमिच्याइँ गरेर उक्त संस्थालाई सामान खरिद अधिकार र रकम प्रत्यायोजन गरेको थियो।

विभागका तत्कालीन महानिर्देशक डा. दिपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले विश्व बैंकबाट ऋण लिएको रकम सामान खरिदका लागि युनोप्सकोलाई निकासा गरिदिएका थिए।