गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

होमल्याण्ड खबर

२०८१ जेष्ठ २१ गते, सोमबार १६:५५ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि एक अर्ब ४ करोड विगो मागदाबीसहितको आरोपपत्र विशेष अदालतमा दर्ता भएको आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद थपलियाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सामेबार पाँच वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।