महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति

होमल्याण्ड खबर

२०८१ जेष्ठ २४ गते, बिहीबार ११:२४ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले यस वर्ष महानगर क्षेत्रमा सञ्चालित निजी विद्यालय(बोर्डिङ स्कुल) मा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिएका छन्।

‘एउटा कानुन कार्यान्वयनको कारण यो वर्ष महानगर क्षेत्रमा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन्,’ मेयर बालेनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए।’

उनले यति ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएको महानगरको इतिहासमै पहिलो पटक भएको मेयर बालेनको दाबी छ।

उनले चालु शैक्षिक सत्र २०८१ मा (हिजो सम्म) विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको पनि जानकारी दिएका छन्।

‘यस वर्ष एक लाख ४९ हजार ९५६ विद्यार्थीमध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएका छन्,’ मेयर शाहले लेखेका छन्, ‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हाही अनुगमन गर्नेछौं। फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’

महानगरपालिकाले हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि आज सार्बजनिक सूचना प्रकाशन गरेको छ।

‘३ दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने निजी विद्यालयलाई चेतावनीको शैलीमा मेयर शाहले भनेका छन्।

उनले लेखेका छन्, ‘विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा वर्ष १३ हजार र यस वर्ष करिब १९ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ।’