टी-१० लिग : केरलाले आज दोस्रो खेल खेल्दै, सन्दीपको प्रदर्शन कस्तो होला ?

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १०:१३ मा प्रकाशित

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत दोस्रो खेलमा आज (बिहिबार) कराँचीयन्स (सिन्धिस) संग प्रतिस्पर्धा गर्दैछ ।

सारजाहमा हुने केरला र कराँचीयन्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:३० मा सुरु हुनेछ । र, दुवै टोली निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ  ।

साविकको विजेता समेत रहेको केरला लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुधबार राति नेपाली युवा लेग स्पिनर सन्दीप चम्किएपछि केरलाले पख्तुनलाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले डेब्यु खेलको आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । यस्तै उनले दोस्रो ओभरमा समेत एक विकेट लिएका थिए ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए । फ्लेचर ३२ रनमा आउट भए ।

त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे । यस्तै छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई सुन्य रनमा आउट गरेका थिए ।

सन्दीप आजको खेलमा समेत मैदान उत्रन सक्ने सम्भावना रहेको छ । किनकि पहिलो खेलमा किफायती बलिङ गर्दै सन्दीप प्लेयर अफ दि सिरिज समेत बनेका थिए ।

यता, कराँचीयन्स पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कराँचीयन्स राजपुट्ससंग १० विकेटले पराजित भएको थियो ।