निर्माणाधीन चिलिमे–त्रिशूली प्रशारण प्रणालीको शिलान्यास

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १४:०३ मा प्रकाशित

निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रशारण प्रणाली आयोजनाको शिलान्यास गरिएको छ ।
नुवाकोट र रसुवामा पर्ने त्रिशूली र तादी करिडोरमा उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडानका लागि नुवाकोटको किस्पाङ गाउँपालिका–५ परैवेशीमा निर्माण थालिएको आयोजनाको बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्दै तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिए ।

मन्त्री पुनले विद्युतीय प्रणालीमा प्रशारण लाइनको भूमिका मुख्य अंग हुने भएकाले तोकिएकै समयमा कार्य सम्पन्न गरी लोडसेडिङ अन्त्यको लक्ष्य पूरा गर्नतर्फ सबैको साथ आवश्यक रहेको बताए । “विद्युतीय सम्भावनाको खोजी गर्दै त्यसमा लगानी भित्र्याउन सरकारले हरपल प्रयास गर्दै आइरहेको छ,” उनले भने, “मुलुक समृद्धितर्फ लम्काउन विद्युत् उत्पादन र प्रशारण प्रणाली निर्माणको योगदानलाई अर्थपूर्ण रूपमा लिएका छौ ।”

सरकारको नीति तथा कार्यक्रममा नेपाल–चीन अन्तरदेशीय ४०० केभी प्रशारण लाइनसमेत रसुवा, नुवाकोट हुदै ल्याउन लागेकाले यहाँ अब प्रशारण ‘हब’को रूपमा विकास गर्न सरकारले पहल अघि बढाएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिरकणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको त्रिशूली र तादी करिडोरमा हाल निर्माण भइरहेका करिब ६०० मेगावाट विद्युत् अबको तीन वर्षभित्र उत्पादन हुने गरी कार्य जारी रहेको जानकारी दिए । उनका अनुसार यही प्रशारण लाइनमार्फत यहाँ सम्भाव्यता अध्ययन र निर्माणका लागि पहल भइरहेका गरी करिब एक हजार मेगावाट विद्युत् निर्माण थालिएको प्रशारण लाइनमार्फत लैजान सकिने गरी संरचना निर्माण गर्न लागिएको छ ।

कार्यक्रममा आयोजना निर्माणका लागि लगानी गर्ने दातृ निकाय युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) का उपाध्यक्ष एन्ड्रयू म्याकडोवेल, नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र नेपालका लागि जर्मन राजदूत रोल्याण्ड स्क्याफरले नेपालको ऊर्जा तथा वातावरणीय क्षेत्रको सुधारमा लगानीको लागि नेपाल सरकारको आह्वानमा आफूहरूले साझेदारीको अवसर पाएकाले सफल कार्यान्वयको अपेक्षा राखेको बताए ।

निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रशारण प्रणाली आयोजनामार्फत निर्माण थालिएका तीनवटा योजनालाई विद्युत् प्राधिकरणसहित दातृ निकायको अनुदान तथा सहुलियत ऋण सहयोगमा कार्य अघि बढाइएको छ ।
आयोजनाले रसुवाको थम्बुचेतमा चिलिमे हब, त्यहाँबाट त्रिशूली थ्री ‘बी’ हबसम्म २७ किमि २२० केभी डबल सर्किट प्रशारण लाइन र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माणको काम अघि बढाएको छ । विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीसहित उक्त योजनामा युरोपियन इन्भेस्टमेन्ट बैंकको सहुलियत ऋण सहयोग र युरोपियन युनियन र जर्मन सरकारको अनुदान सहयोग रहेको छ । परियोजना निर्माणाका लागि ६५.२५ मिलियन युरो लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएको निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रशारण प्रणाली आयोजनाका प्रमुख थर्कबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार चिलिमे हब र थ्री बी हब निर्माणका लागि समान १३ मिलियन युरो (एक अर्ब ३० करोड रुपैयाँ) र चिलिमे–त्रिशूली प्रशारण लाइनका लागि ११ मिलियन युरो (एक अर्ब २० करोड रुपैयाँ) लाग्ने देखिएको छ । यी तीनवटै योजना आगामी वर्षको जेठ ३० सम्म सम्पन्न गर्ने लक्ष्य विद्युत् प्राधिकरणले लिएको छ ।

प्राधिकरणले त्रिशूली–काठमाडौं २२० डलब सर्किट प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामार्फत काम भइरहेको उक्त प्रशारण लाइन निर्माणको काम आगामी पुस १५ सम्म सक्नेगरी ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) मार्फत काम जारी राखेको छ ।