नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

होमल्याण्ड खबर

२०८१ असार २ गते, शनिबार ०८:५३ मा प्रकाशित

टी- २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।

अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा लैजाने मौका थियो । गुल्शन समयमै रनका लागि नदौडिँदा अर्को इन्डसम्म पुग्न सकेनन् र रनआउट भए ।

१७ ओभरको खेल समाप्त हुँदासम्म नेपाल ३ विकेट क्षतिमा ९८ रन बनाएर सहज जितको बाटोमा थियो । तर, १८ औं ओभरको खेलमा ट्विस्ट आयो । ताब्राइज साम्सीले दिपेन्द्र सिंह ऐरी र आसिफ शेखलाई तीन बलको अन्तरालमा आउट गरेपछि नेपाली खेमा तनावमा परेको थियो । लगत्तैको ओभरमा कुशल मल्ल पनि आउट भएपछि खेल दक्षिण अफ्रिकाको पक्षमा मोडियो ।

१९ औं ओभरको पाचौं बलमार छक्का हान्दै सोमपाल कामीले फेरि नेपाली समर्थकलाई उत्साहित तुल्याएका थिए । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा उत्रिन पाएनन् ।

यो हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको छ । आज जितेको भए बंगलादेशविरुद्धको अन्तिम म्याच निर्णायक हुने थियो ।