सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पाँच जना दोषी ठहर

होमल्याण्ड खबर

२०८१ असार ७ गते, बिहीबार १०:३६ मा प्रकाशित

विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । बुधबार विशेष अदालतले यस मुद्दाका अन्य दुई प्रतिवादीलाई भने सफाइ दिने फैसला गरेको छ ।

दीपक राई, सन्दीप राई, केसाङ योल्मु, रामकुमार लोवा र मिलन लोवा दोषी ठहर भएका अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । रेग्मीका अनुसार दीपक, सन्दीप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलने उक्त पैसा झिकेकोले उनीहरूमाथि कसुर कायमको फैसला भएको हो ।

दीपक र मिलन यस मुद्दामा मुख्य कसूरदार ठहर भएका छन् भने अन्य तीन जना मतियार रहेको फैसला सुनाएको छ । यसै मुद्दाका प्रतिवादीहरू भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका छन् ।

उनीहरूले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर भएको थियो । यसमा कसूरदार ठहर भएका पाँच जनामाथि १३ असारमा सजाय निर्धारण हुने भएको छ ।