९ मंसिर २०८१, आईतवार
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछ । पहिलो खेलमा ब्रिगेट ब्वाईज क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पुछारमा रहेको ब्रिगेट ब्वाईज प्रतियोगितामा अंक जोडन संघर्षरत छ । एपीएफ जित निकाल्दै तालिकाको तेस्रो स्थान उक्लिन चाहन्छ । एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । ब्रिगेड अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
दोस्रो खेल विभागीय डर्बीको हुनेछ । जहाँ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
घरेलु फुटबलमा पुलिस बलियो टोली हो । युवा खेलाडीको आगमनसंगै प्रभावशाली प्रर्दशन गर्दै आएको पुलिसले यसपटक लिग उपाधिलाई लक्ष्य बनाएको छ । राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीले समेत घरेलु फुटबलमा आफ्नो बर्चस्व स्थापित गर्ने दाउमा छ ।
आज मैदान उत्रदै गर्दा दुवै टोली आफ्नो विभागीय बर्चस्वता कायम गर्ने ध्याउन्नमा हुनेछन् । दुवै टोलीले २ खेलबाट समान ४ अंक जोडेका छन् । आजै हुने तेस्रो खेलमा मछिन्द्र क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल काठमाडौंका हलचोक मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
संकटा प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने दाउमा छ । प्रतियोगितामा अपराजित रहेको मछिन्द्र समेत पहिलो जितको खोजीमा छ । मछिन्द्रले लिगका सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।