‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’मा निर्माण सामग्रीको गुणस्तरबारे छलफल हुने

होमल्याण्ड खबर

२०७५ मंसिर ७ गते, शुक्रबार १२:१५ मा प्रकाशित

बिहीबारबाट शुरु भएको मेलामा पहिलो दिन २५ हजार जनाले अबलोकन गरेका छन् । मेलामा निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अबलोकनकर्ताको भिड लागेको थियो । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भएको ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ मेलाको यो दोश्रो संस्करण हो । मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्नि्सिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल छन् ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको मेलाको मुख्य आयोजक युथ कम्यनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाइसिएनसी) का अध्यक्ष आनन्द सुबेदीले जानकारी दिए । उनका अनुसार मेलामा दैनिक रुपमा सेमिनारसमेत आयोजना गरिनेछ । त्यसमा भवन निर्माणसग सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । मेला अबलोकनकर्ताको आवास तथा निर्माणसम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धित विज्ञले सम्बोधन गर्ने गरी प्रश्नउत्तरको समेत व्यवस्था गरिएको उनले बताए । मेलामा मंसिर ७ गते हरित निर्माण र मंसिर ८ गते निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे दिउसो १ बजेदेखि डेढ घन्टा प्राविधिक छलफल हुने छ ।

‘मेलामा हामीले उत्पादन सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराउछौं’, मेला सहआयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले भने, ‘अबलोकन गर्न मेलामा आउनेले घर निर्माणमा आवश्यक पर्ने सम्पर्ण बस्तु तथा सेवाबारे जानकारी पाउने छन् ।’ यस्तो मेलाले फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउने आयोजकको अपेक्षा छ ।
युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिंङ आर्किटेक्चरल एन्ड इन्जिनियरिंग फर्म र ब्राण्डवर्थ प्राली रहेका छन् ।
मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको २ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।