घट्यो बैंकहरुकाे आधारदर, कहाँबाट पाइन्छ सस्तो ऋण ?

होमल्याण्ड खबर

२०८१ असार ११ गते, सोमबार १५:१६ मा प्रकाशित

वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । आधारदर घट्नु भनेको कर्जाको ब्याजदर सस्तो हुनु हो । पछिल्लो समय महिनैपिच्छे निक्षेपको ब्याजदर घटिरहेको छ । योसँगै ऋण लिनेहरुलाई पनि केही राहत मिलेको छ । अहिले बैंकहरुको आधारदर ९ प्रतिशतभन्दा कम छ ।

सबैभन्दा सस्तो ब्याजरदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधारदर ७.२१ प्रतिशतमा झरेको छ, जुन जेठमा ८.३५ प्रतिशत थियो । दोस्रो कम आधारदर एभरेस्ट बैंकको रहेको छ । यसको असारको आधारदर ७.५३ प्रतिशत छ । अघिल्लो महिना ७.८ प्रतिशत थियो ।

यस्तै तेस्रोमा नबिल बैंक ७.८ प्रतिशत छ । सबैभन्दा बढी आधार दर कुमारी बैंकको रहेको छ । यस बैंकको आधारदर ९.४८ प्रतिशत छ । त्यस्तै एनआईसी एसिया बैंकले ९.१३ प्रतिशत आधारदर तोकेको छ । जेठको तुलनामा आधारदर बढाएको छ । जेठमा ८.६ प्रतिशत थियो ।

हिमालयन बैंकको ९.२, कृषि विकास बैंकको ८.३८, सिटिजन्स बैंकको ८.८५, प्रभुको ८.३५, एनएमबीको ८.७, माछापुछ्रेको ८.४५ र लक्ष्मी सनराइजको ८.९ प्रतिशत आधारदर छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.०३, प्राइम कमर्सियलको ९.०४, सिद्धार्थ बैंकको ८.३, ग्लोबल आइएमर्इको ८.४, नेपाल एसबीआई ८.५२ र सानिमा बैंकको ८.२ प्रतिशत रहेको छ ।

बैंकहरूले आधारदरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ । यस्तो ब्याजदर स्थिर वा परिवर्तनशील दुबै हुनसक्छ ।