भक्तपुरमा ठूला निर्माण उपकरणहरूको ‘कनम्याक नेपाल–२०१८’ सुरु

होमल्याण्ड खबर

२०७५ मंसिर ७ गते, शुक्रबार १४:१८ मा प्रकाशित

भारतीय उद्योग परिसंघ (सीआईआई) को आयोजनामा भक्तपुरमा नेपालकै सबैभन्दा ठूला निर्माण उपकरणहरूको प्रदर्शनी ‘कनम्याक नेपाल–२०१८’ सुरु भएको छ ।

बिहीबारबाट सुरु भएको सो प्रदर्शनीको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरी, कनम्याक नेपाल–२०१८ का अध्यक्ष अबृन्द्रकुमार गर्ज, नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष रवि सिंह, भारतीय उद्योग परिसंघका अध्यक्ष बिपिन सोन्धी, प्रतिनिधिसभा सांसद महेश बस्नेत र भारतीय उद्योग परिसंघका उपमहानिर्देशक वीरेन्द्र गुप्ताले संयुक्त रूपमा गरेका छन् ।

बिहीबारदेखि शनिबारसम्म ३ दिन आयोजना हुने सो प्रदर्शनी भक्तपुरको साल्लाघारी खुला मैदानमा सञ्चालन गरिएको छ । सो प्रदर्शनीमा सानादेखि ठूला निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण र निर्माण सामग्री ढुवानीका साधन र पार्टपुर्जाका १५० स्टल राखिएको छ ।
सरकारी तथा दातू संस्था लक्षित प्रवर्तन, २ लाख वर्गफिट क्षेत्रफलको प्रदर्शनी स्थल, ६ हजार व्यावसायिक अवलोकनकर्ताहरू यसका प्रमुख विशेषता छन् । कार्यक्रममा मन्त्री महाशेठले यो प्रदर्शनीले नेपाली निर्माण व्यवसायी र विकासको गतिमा अघि बढेको नेपालका लागि राम्रो अवसर भएको बताए । यसैगरी प्रतिनिधि सभा सांसद महेश बस्नेतले भक्तपुरमा यस्ता प्रदर्शनीका लागि ठूलो हल बनाउने योजना रहेको बताउँदै यस्ता मेला नियमित आयोजना गर्न अनुरोध गरे । सीआईआईका अध्यक्ष बिपिन सोन्धीले नेपाल निर्माण उपकरणका लागि दक्षिण एसियामा दोस्रो ठूलो बजार रहेको जनाउँदै यसलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

प्रदर्शनीमा कन्टिनेनटल टेडिङ इन्टप्राइजका कन्ट्रक्सन इक्युप्मेन्ट प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टले यस्तो मेलाले ठूला उपकरणको जानकारी लिने मानिसका लागि सजिलो हुने बताए । उनले नेपालमा विकास निर्माणका कार्य तीव्र गतिमा अघि बढिरहेको बेला यस्ता मेलाले सहयोगी भूमिका खेल्ने बताए । प्रदर्शनीमा टाटा, हुन्डाई, कोमात्सु, क्याट, जेसिबीलगायतका ठूला उपकारण उत्पादन र बिक्री गर्दै आएका २ दर्जनभन्दा बढी कम्पनीको सहभागिता छ ।