भैरहवा उडेको बुद्धको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्कियो

होमल्याण्ड खबर

२०८१ असार १३ गते, बुधबार १४:५० मा प्रकाशित

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्न नसकेर फर्किएको छ । बिहान ७:५५ बजेको फ्लाइट भएपनि मौसमका कारण जहाज ढिला गरी १२ बजे उडेको थियो ।

पानी परेर मौसम बिग्रिएका कारण जहाज भैरहवा विमानस्थलमा ल्याण्ड गर्न नसकी पुन १ बजेर ३ मिनेटमा काठमाडौं फर्किएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । यात्रु संखु्या भने उनले खुलाएनन् । मौसम सफा हुनेबित्तिकै ती यात्रुलाई भैरहवा पठाइने कर्णले बताएका छन् ।

विमानभित्र भैरहवाको विशेष आर्थिक क्षेत्र सेज अनुगमन गर्न हिँडेको राष्ट्रिय योजना आयोगको टोली पनि थियो । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि जहाजमा सवार थिए । जहाज ल्याण्ड गर्न नसकेपछि यात्रु त्रसित भएका थिए ।