एसइई नतिजा : १८६ जनाले ल्याए चार जीपीए, साढे २ लाख परीक्षार्थी फेल

होमल्याण्ड खबर

२०८१ असार १४ गते, बिहीबार १०:२९ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ । ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निर्णयसँगै बोर्डले नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, १८६ जनाले चार जीपीए ल्याएका छन् ।

परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारी नसकिएपछि नतिजा आज सार्वजनिक भएको छ । गत १५ चैतदेखि सुरु भएको एसइईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले एसइई नतिजा हेर्न परीक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ ।