८ मंसिर २०८१, शनिबार
टी-२० विश्वपक २०२४ को च्याम्पियन बनेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा दुबै स्टार खेलाडीले संन्यास लिने यो उपयुक्त समय भएको बताए ।
यसअघि सन् २००७ मा भएको टी–२० विश्वकपको पहिलो संस्करणमा भारत च्याम्पियन बन्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । सन् २०११ मा एक दिवसिय विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टी–२० विश्वकप उपाधि हो । हिजो भारतलाई टी–२० विश्वकप उपाधि जिताउने क्रममा कोहली प्लेयर अफ दि म्याच भएका थिए।
२०१० मा जिम्वाब्बेविरुद्ध टी-२० आई डेब्यू गरेका कोहलीको नाममा टी-२० विश्वकपको इतिहासमा सर्वाधिक १ हजार २ सय ९२ रन बनाउने कीर्तिमान छ । उनले भारतका लागि १ सय २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ४८ दशमलव ६९ को औसत र १३७ दशमलव ०४ को स्ट्राइक रेटमा ४ हजार १ सय ८८ रन बनाएका छन् । उनको नाममा ३९ अर्धशतक र १ शतक छ । उनी यस प्रारुपमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।
रोहितले टी-२० विश्वकपको इतिहासमा विराटपछि सर्वाधिक १ हजार २ सय २० रन बनाएका छन् । उनले भारतका लागि १ सय ५९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ३२ दशमलव शून्य ५ को औसत र १४० दशमलव ८९ को स्ट्राइक रेटमा ४ हजार २ सय ३१ रन बनाएका छन् । यस अवधिमा उनले ५ शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।