९ मंसिर २०८१, आईतवार
इंग्ल्यान्डका क्रिकेटर पाउल कोघ्लिनले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा अलराउन्डर कोकघ्लिनले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बुधबार कोघ्लिनलाई अनुबन्ध गरेको जनाएको छ ।
पोखराले बुधबार मात्रै स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जरलाई अनुबन्ध गरेको थियो । यस्तै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरिसकेको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार पोखराले कोघ्लिनलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
दायाँ हाते ब्याट्सम्यान कोघ्लिन पहिलो श्रेणी र लिष्ट ए क्रिकेट खेलिसकेका खेलाडी हुन् । मिडियम पेस बलर समेत रहेका कोघ्लिन काउन्टी क्लब नट्टीङघमशायरबाट खेल्ने गर्छन् ।