एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने, नन ग्रेडेड सबै विद्यार्थी सहभागि हुन पाउने

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार १०:१६ मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो ।

तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो । गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।