अर्जेन्टिनाका कप्तान मेसीले ओलम्पिक नखेल्ने

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार १५:५५ मा प्रकाशित

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन् ।

पेरिसमा सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक जेभियर मास्चेरानोले घोषणा गरेको टोलीमा मेसीको नाम समावेश नगरिएको हो । मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहित चार विश्वकप विजेता खेलाडीलाई बाहिर राखेका छन् ।

वर्षभरी चोटले ग्रसित भएका मेसीले सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षा गर्ने लक्ष्यका साथ कोपा अमेरिका खेलिरहेका छन् । यो जितले अर्जेन्टिनाका लागि सन् २०२२ मा विश्वकपको उपाधि उचाल्ने अवसर प्रदान गरेको थियो ।

सन् २००८ मा मेसीले बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । ओलम्पिक पुरुष फुटबल प्रतियोगिता २३ वर्षमुनिका टोलीका लागि हो तर, प्रत्येक टोलीमा तीन जना पाको उमेरका खेलाडी राख्न प्रावधान रहेको छ ।

सन् २००४ र २००८ मा खेलाडीका रुपमा ओलम्पिकमा स्वर्ण पदक जितेका मुख्य प्रशिक्षक मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन् ।

जुलाई २४ मा मोरक्कोसँग ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेल खेल्नुअघि अर्जेन्टिनाले फ्रान्समा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । समूह बीमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन छन् ।