११ मंसिर २०८१, मंगलवार
विराटनगरमा एक युवाको हत्या भएको छ । अन्य युवा गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।
सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिकाको नेपाल टेलिकमनजिक तीन युवा गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियार प्रहार भएको छ । मण्डलको पाखुरा र ढाडमा चोट छ ।
घटनामा संलग्नको खोजी भइरहेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।