३० कार्तिक २०८१, शुक्रबार
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए ।
होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको बताउँदै अर्थमन्त्री पौडेलले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको औंल्याए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, उनले भने ।
उक्त अवसरमा हानका अध्यक्ष विनायक साहले ३०÷३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे ।
सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको भन्दै अध्यक्ष साहले भने, ‘आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौं ।’