संकटाविरुद्ध फराकिलो जितसंगै आर्मी शीर्ष स्थानमा

होमल्याण्ड खबर

२०७५ मंसिर १० गते, सोमबार १३:२२ मा प्रकाशित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले सिएमजी संकटा क्लबलाई ५ – १ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकीले दुई गोल गरे । यस्तै कप्तान भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले एक एक गोल गरे । संकटाका म्याक्सवेल एलोनले एक गोल गरेका थिए ।

आर्मीले संकटाले बनाएको सुरुवाती अग्रता उल्टाएर फराकिलो जित निकालेको हो ।

संकटाले खेलको ९ औं मिनेटमा विदेशी खेलाडी एलोनको गोलबाट अग्रता बनाएको थियो । त्यसअघि खेलको तेस्रो मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

आर्मीका टंक बस्नेतलाई संकटाका अमित तामाङले फल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा आर्मीका सन्तोष तामाङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

तर, खेलको १७ औं मिनेटमा आर्मीका टेक बहादुरले गोल गर्दै आर्मीलाई १ – १ को बराबरीमा ल्याए । विकास तामाङको पासमा टेकले हेड गोल गरेका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २ – १ को अग्रता दिलाए ।

दोस्रो हाफमा आर्मीले लगातार तीन गोल गर्यो । तर, संकटाले पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ५२ औं  मिनेटमा पाएको पेनाल्टीमा संकटाका अमित तामाङले गोल गर्न सकेनन् ।

संकटाका नितिन थापालाई आर्मीका सन्तोष तामाङले फल गरेपछी पाएको पेनाल्टीमा अमितको प्रहार बाहिरिएको थियो ।त्यसपछि आर्मीले एकतर्फी गोल गर्यो ।

खेलको ६३ औं मिनेटमा सन्तोसले फ्रिकिकबाट गोल गर्दै आर्मीको अग्रता ३ – १ को बनाए । खेलको ६६ औं मिनेटमा टेक बहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४ – १ को स्थितिमा पुर्राए । त्यसपछि खेलको ७६ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई ५ – १ को जित दिलाए ।

जितसंगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । अपराजित रहेको आर्मीले ४ खेलबाट १० अंक जोडेको छ ।

संकटाको यो पहिलो हार हो । अघिल्ला तीन खेलमा लगातार जित निकालेको संकटा आर्मीसंग भने निरिह बन्यो । तेस्रो स्थानको संकटाले ४ खेलबाट ९ अंक जोडेको छ ।