मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी

होमल्याण्ड खबर

२०८१ श्रावण १० गते, बिहीबार १३:३६ मा प्रकाशित

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको सबै तयारी पुरा भएको भन्दै राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने जानकारी दिएको हो ।

यद्यपी समय भने तय भइनसकेको राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । उनका अनुसार भोलि बिहान बस्ने बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने समय तय गर्नेछ ।

राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने गर्दथ्यो । तर, यसपटक भने अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

अर्थतन्त्र दबाबमा रहेका बेला सार्वजनिक हुन लागेको मौद्रिक नीति प्रति सबैको चासो रहेको छ । निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ पर्खिएका छन् ।