बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको सात महिनापछि निलम्बन फकुवा

होमल्याण्ड खबर

२०८१ श्रावण १५ गते, मंगलवार १४:३१ मा प्रकाशित

ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बन परेका दुई प्रहरीको निलम्बन सात महिनापछि फुकवा भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारीको निलम्बन फुकवा भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानूनले शाखाले लेखेर पठाइसकेको बताए । उनका अनुसार कानून शाखाले लेखेपछि सम्बन्धित मातहतको कार्यालयले प्रहरी अधिकारीको निलम्बन फुकुवा गर्नुपर्ने गरी नियमित कामकाजमा खटाउनुपर्ने हुन्छ ।

२०८० पुस १३ गते बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनमुलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनामा राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै डीएसपी लम्साल र असई दनुवारलाई निलम्बन गरिएको थियो ।

प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख छ । जसकारण उनीहरुको निलम्बन फुकुवा बाध्यकारी पनि बनेको थियो ।