११ मंसिर २०८१, मंगलवार
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाएर उनले ९ साउनमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । पूर्वमुख्यसचिव र परराष्ट्रसचिव रहेका बैरागीलाई सरकारले ३१ जेठ ०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
‘मैले पदबाट राजीनामा दिएको हुँ,’ उनले भने, ‘स्वतन्त्र लेखन र अध्ययनमा क्रियाशील हुने इच्छाले राजीनामा दिएको छु ।’ उनको राजीनामा स्वीकृत भइनसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । ‘उहाँले राजीनामा बुझाउनुभएको छ,’ उनले भने, ‘राजीनामा स्वीकृत हुने प्रक्रियामा छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैरागीलाई भारतका लागि राजदूतमा प्रस्ताव गरेपछि उनले राजीनामा दिएका थिए । तर, मन्त्रिपरिषद्ले १४ साउनमा भारतका लागि राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नै सिफारिस गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त हुन उनले मुख्यसचिवको कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए । १४ असोज ०८० सम्म मुख्यसचिवको कार्यकाल रहेका बैरागीलाई नयाँ नियुक्ति दिएर सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको थियो । बैरागीका लागि सरकारले मन्त्रीस्तरीय सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकारको नयाँ दरबन्दी सिर्जना गरेको थियो । उनको कार्यालय राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा थियो । परराष्ट्र सेवाबाट मुख्यसचिवसम्म भएका बैरागी राष्ट्रिय सुरक्षाका विज्ञ भने थिएनन् ।
बैरागीको पहलमा सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पठाएर समितिमा छलफल पनि भइसकेको छ । ‘मैले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा एकीकृत गुप्तचर संयन्त्र (इन्टिग्रेटेड इन्टेलिजेन्स मेकानिज्म–आइएमएम) सुरु गरेको थिएँ । यसबाहेक मैले राष्ट्रिय सुरक्षाका सन्दर्भमा केही महŒवपूर्ण कामहरू छाडेर हिँडेको छु । आगामी दिनमा त्यसको निरन्तरता हुनेछ भन्नेमा विश्वस्त छु,’ बैरागीले भने ।