३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले क्यानका पदाधिकारी तथा खेलाडीहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार (आज) बिहान क्यान पदाधिकारीसँगै खेलाडीहरूसँग छलफल गरेका हुन् ।
“क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो,” प्रधानमन्त्री ओलीले छलफलपछि भनेका छन् ।
उनले यस छलफलले आफ्नो पहिलो निर्णय अर्थात् कीर्तिपुरमा सुविधासम्पन्न रंगशाला बनाउने निर्णयमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । “भेटपछि म उत्साही छु,” उनले भनेका छन् ।
गत असार ३१ गते पदभार सम्हाल्दै ओलीले पहिलो निर्णय नै सुविधासम्पन्न रंगशाला बनाउने गरेका थिए । यसअघि शनिवार पनि उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग छलफल गरेका थिए ।