न्याय खोज्दा खोज्दै मानसिक रोगले थलिए निर्मलाका बुबा

होमल्याण्ड खबर

२०७५ मंसिर ११ गते, मंगलवार १२:०१ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारलाई दवाव दिन धर्ना बस्दाबस्दा उनका बाबु मानसिक रोगी बन्न पुगेका छन् ।

यज्ञराज १४ दिनसम्म धर्ना बसे । धर्ना बस्नुअघिका सद्दे उनी एकाएक बर्बराउने, चिच्याउने, रातभर नसुत्ने गर्न थाले । गाली गर्न थाले ।
तनावले उनलाई मनोवैज्ञानिक समस्या भयो । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ को लक्षण देखिएको शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख सरोजप्रसाद ओझाले बताएका छन् ।

यज्ञराजको शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

तनाव झेल्न नसकेर यो समस्या आएको डा ओझाले बताए । यज्ञराजलाई केही दिन औषधि चलाएर त्यसपछि मात्रै काउन्सिलिङ सुरु गरिने छ ।
यज्ञराजको गतिविधिले सम्हाल्न गाह्रो भएपछि विमानबाटसमेत काठमाडौं ल्याउन सकिएको थिएन ।

सरकारले न्याय नदिई मानसिक रोगी बनायो ?

अहिले सामाजिक संजालमा यज्ञराजलाई मानसिक रोगी बनाउने अपराध सरकारले गरेको आरोप लागिरहेका छन् । छोरीको बलात्कारपछि हत्या हुन्छ अनि कुन चाहिं अभिभावक शान्तले बस्न सक्छ ।

कसले यज्ञराजलाई राहत दिलाउने काम गर्यो ? कसैले आश्वासन दिलाउन सकेनन् ।

सरकारले त झन् बढी पीडा दियो । आन्दोलन गर्ने बनायो । धर्नामा बस्ने बनायो । त्यही तनावले उनी आफै थलिए । यति ठूलो घटना हूँदा पनि सरकार गम्भीर नभएको आरोप लाग्दै आएको छ ।