आठ वर्षका आधा घट्यो विद्युत् चुहावट

होमल्याण्ड खबर

२०८१ श्रावण २७ गते, आईतवार १४:०१ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९र८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए । कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भई नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।