अब जता फर्कियो त्यतै सरकारः प्रधानमन्त्री केपी शर्मा ओली

होमल्याण्ड खबर

२०७५ मंसिर ११ गते, मंगलवार १६:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त भएको दावी गरेका छन् ।

मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा आयोजना सुभारम्भ समारोहमा सम्बोधन गर्दै ओलीले २५ बर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफुहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारको सामान्य भन्दा सामान्य कुरामा पनि बढी आलोचना हुने गरेको बताए । सरकारले जनताका पक्षमा कम गर्दा पनि नदेख्नेहरुले पोलमा झुण्डाइएको फ्लेक्स भने देखेको बताए ।

आलोचकहरुलाई देखाउनकै लागि सामाजिक सुरक्षाको कार्यक्रम तामझाम गरिएको उनको दावी थियो ।‘एउटा कार्यक्रमको घोषणा गर्दा पनि यस्तो तामझाम किन भन्ने प्रश्न पनि उठ्यो’, उनले भने, ‘ यो तामझाम देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन र सुनिनँ भन्नेहरुलाई सुनाउनका लागि हो ।’

सरकारका काम कारबाहीबारे मजदूर, श्रमजीवी वर्ग र उत्पीडित वर्गलाई सोध्न समेत आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि बनेको होइन् देश बनाउनका लागि हो, सरकारले आफ्नो काम गर्दैछ ।’

सरकार कतै नदेखिएको र सरकारको उपीसथति शून्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अलोचनाको जवाफ दिदैं उनले भने, ‘अब काठमाडौंका सडक धोइन्छ, धुलो सफा गरिन्छ अनि देख्नुहुन्छ सरकार, त्यसपछि जता फर्कियो त्यतै सरकार देख्न थालेपछि आफै चुप हुनुहुन्छ ।’