८ बैशाख २०८२, सोमबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविधुत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसाथ आयोजना तीव्र गतिमा अगाडि बढेको हो ।
घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पूर्वाधार निर्माणको करिब ९० प्रतिशत काम सकिएको हो । पूर्वाधार निर्माणको काम सकिना साथ इलोक्ट्रोमेकानिकल जडान गर्ने तयारी रहेको आयोजनाले जनाएको छ ।
आठ महिनाअघि एक हजार सात सय मिटर सुरुङ खन्ने काम सकेको आयोजनाले इन्टेक, पेनस्टक पाइप र विधुत् गृह निर्माण काम अन्तिम चरणमा पु¥याएको छ । २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको छ । भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । आयोजनाको सुरुङमार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइप जडान गर्ने काम सकिएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट ड्याम, इन्टेकको काम भइरहेको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दी खोलाको पानीलाई १५० मिटरको उचाइबाट पावर हाउसमा खसालेर विधुत् उत्पादन गरिनेछ ।
निलगिरी खोलाको किनारमा निर्माण गर्न लागिएको विधुत् गृहको निर्माण अहिले तीव्र पारिएको छ । विधुत् गृहको पनि करिब ९० प्रतिशत काम सम्पन्न भएको कम्पनी सचिव रिजालले भने, विधुत् गृहदेखि इन्टेक निर्माणसम्म तीव्र रूपमा काम भइरहेको छ । आयोजनाको पूर्वाधारतर्फको काम आगामी दुई महिनाभित्र सक्ने लक्ष्यसाथ काम भइरहेको उनले बताए ।
विधुत् गृहको निर्माण सकिएपछि इलोक्ट्रोमेकानिकल जडानका लागि भारतीय प्राविधिकहरू आउने उनले जानकारी दिए । चैत मसान्तसम्म जसरी पनि परीक्षण उत्पादन गर्ने लक्ष्य रहेको सचिव रिजालले बताए ।
३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा करिब एक अर्ब १५ करोड लागत लाग्ने अनुमान गरिएको छ । भूकम्प र नाकबन्दीका कारण समयमै आयोजना सम्पन्न हुन नसक्दा लागत बढेको लगानीकर्ता राजेश शाक्यले बताए । आयोजनाले १६ करोड पचास लाख रुपियाँ बराबरको सेयर प्रभावितहरूलाई वितरण गरिसकेको छ भने १४ करोड पचास लाख रुपियाँ बराबरको सेयर सर्वसाधारणका लागि खुलाउने तयारी गरेको कम्पनी सचिव रिजालले बताए ।