भोलि लुम्बिनीमा सार्वजनिक बिदा, राष्ट्रपति पाल्पा जाँदै

होमल्याण्ड खबर

२०८१ भाद्र १० गते, सोमबार ११:४२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पाको तानसेन जाने भएका छन् । कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकन गर्न उनी तानसेन जाने भएका हुन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार राष्ट्रपति पौडेलले भगवतीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको छ । वि.सं. १८७१/०७२ मा नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्रा चलाएका थिए ।

भगवतीको भाकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने चलन चलाको बताइन्छ । भगवती जात्राको दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा समेत दिएको छ ।