८ मंसिर २०८१, शनिबार
लगातार ओरालो लाग्दै आएको सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अंकले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको सेयर मूल्य भने घटेको छ।
कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता सेयर आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन्।